आफ्नो शरिर ९० प्रतिशत डढेको सुनेपछि उहाँलाई सकिएछु जस्तो लागेछ ।
दुईपटक छुट्टिमा आएर कतार फर्केको १ वर्ष पनि पुगेको थिएन ।
झण्डै ११ महिना अघिको कुरा हो । शुक्रबार
छुट्टिको दिन । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमदानको समयमा आफ्नो
कम्पनीमा काम नहुने भएपछि धेरै नेपाली श्रमिक शुक्रबार पनि बाहिर कतै
भेटेको काम गर्थे । धरान ११, सुनसरीका पदमबहादुर श्रेष्ठ पनि त्यसरी नै
शुक्रबार छुट्टिको दिन एउटा ग्यारेजमा काम गर्दैहुनुहुन्थ्यो ।
विहान ८ बजे ड्युटी सकिने बेला हुँदै थियो
। सँगै काम गर्ने अरबी सहकर्मीले चुरोट सल्काए । चुरोटमा सल्किएको आगो
ग्यारेजमा ह्वात्तै सर्यो । आगलागी हुँदा छेवैमा रहेको पेट्रोल पम्प
पड्कियो । पम्प पड्किएपछि आगोको मुस्लोबाट ज्यान बचाउन बाहिर निस्कँदा
शरिरमा लगाएको कपडामा आगो सल्कियो । फुकाउन खोज्दा खोज्दै पुरै ज्यान आगोले
भेट्टायो । त्यसपछि बेहोस ।
कतारको एक सरकारी अस्पतालमा चार महिना
आइसीयुमा उपचार गरेपछि ३५ वर्षीय पदमबहादुरको होस खुल्यो । होस खुल्दा
आफ्नो शरिर ९० प्रतिशत डढेको सुनेपछि उहाँलाई सकिएछु जस्तो लागेछ ।
आठ महिना अस्पतालमा नै बसेर उपचार गरेपछि
चारमहिना अघि अस्पतालका डाक्टर, नर्स र मनकारी नेपाली श्रमिकले दिएको पैसा
जुटाएर आफैंले टिकट काटेर नेपाल फर्कनुभयो । पोलेको घाउ निको नभएकाले अहिले
पनि उपचार गरिरहनुपर्छ ।
‘अर्को जुनी पाए जस्तो लाग्छ नि अहिले त, मरेर पनि बाँचियो जस्तो लाग्छ’
धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेटिएका श्रेष्ठले
भन्नुभयो, ‘डाक्टरहरुले पनि तपाईं त अब हत्तपत्त मर्नुहुन्न, मरेर पनि
बाँच्नुभयो, अर्को जुनी पाउनुभयो भने ।’
यस्ता कुरा सुन्दा अहिले बाँच्ने आशा
पलाएको छ पदमबहादुरलाई । ‘नभए त धेरै टेन्सन हुन्थ्यो । घरमै बसिरहनुपर्ने ।
काम गर्न सकिँदैन्, श्रीमती र साना दुई छोरीहरु कसरी पाल्ने भन्ने चिन्ता
हुन्थ्यो’ उहाँले भन्नुभयो ।
शरीरमा आगो लागेर अस्पतालमा रहँदा पनि काम
गरेको कम्पनीले केही वास्ता गरेन । दश महिनाको तलब अझै पानुभएको छैन
पदमबहादुरले । बिमा बापत पाउनुपर्ने रकम हात लागेको छैन् ।
आफ्नै घरमा पाकेको मिठोमसिनो खाएर लेवर र
मेसनका रुपमा काम गर्दा गर्जो नटरेपछि धरान–११, सुनसरीका पदमबहादुर श्रेष्ठ
भारतमा मजबुरी गर्न पुग्नुभयो । लखनउ इण्डिया कम्पनीमा भारतको लखनउ,
पञ्जाव, हरियाणामा गरी पाँच बर्ष त्यहाँ काम गर्नुभयो ।
घरपरिवार चलाउन त्यहाँ कमाउने मासिक ५
हजार भारुले चलेकै थियो । छुट्टिमा आउजाउ गर्दा श्रीमती र छोरीहरुलाई
भारतमा आफैंसँग लगेर राख्नुभयो ।
हुर्किरहेका दुई छोरीहरुको शिक्षा,
स्वास्थ्यका लागि भारतको कमाइले धान्न नसकेपछि परिवारको सल्लाहमा
पदमबहादुरले विदेश जाने योजना बनाउनुभयो । विदेशमा कमाइ धेरै हुने र
हवाइजहाज चढ्ने रहरले पदमबहादुरलाई कतार पुर्यायो ।
कतारमा मासिक ६ सय रियाल तलब हुने
कम्पनीमा काठमाडौंको एक म्यानपावर कम्पनीबाट कतारका लागि जानुभयो । तर काम
गर्न पुगेको कम्पनी राम्रो नभएपछि तोकिएको तलब सुविधा पनि पाउन मुश्किल
थियो ।
मेसनका लागि लगिएपनि प्लम्बरका रुपमा काम
गर्नुपर्यो । कहिले बन्द हुँदै खुल्ने कम्पनीले चार महिनापछि एक महिनाको
तलब दिन्थ्यो । खानाको लागि छुट्याएको पैसा पनि कम्पनीले समयमा दिँदैनथ्यो ।
साँझ, विहानको गर्जो टार्न र दुईचार पैसा
कमाएर नेपालमा भएका घरपरिवारलाई पठाउन पदमबहादुर जस्ता धेरै नेपाली
श्रमिकले छुट्टिको दिनमा अरु कम्पनीमा काम गर्छन् । आफूले काम गर्न
कम्पनीले नियमित र समयमै तलब सुविधा नदिएपछि धेरै नेपालीले यसरी कानून
विपरित काम गरिरहेका छन् । आफू
गएको कम्पनीमा भन्दा अरु ठाउँमा काम गर्नु कानून विपरित हो भन्ने कुरा
पदमबहादुर जस्ता नेपाली श्रमिकलाई थाहा नभएको भने होइन । ‘यसरी काम गर्नु
गैरकानूनी हो । प्रहरी भेट्यो भने पक्रिन्छ । खानका लागि पनि काम गर्नै
प¥यो । कम्पनीले भनेको समयमा तलब दिँदैन’ पदमबहादुरले भन्नुभयो ।
सम्झौता अनुसार तलब सुविधा नपाएका मात्रै
होइन्, गैरकानूनी रुपमा बसेका धेरै नेपाली श्रमिकलाई पदमबहादुरले
देख्नुभएको छ । ‘कति कम्पनीहरुले परिचयपत्र बनाइदिएका हुँदैन नेपाली
कामदारलाई । कम्पनीमा काम गर्ने ६०/७० जनामध्ये मसहित दुई जनाको मात्रै
परिचयपत्र बनाइदिएको थियो कम्पनीले’ कम्पनीले गर्ने व्यवहार सम्झँदै
पदमबहादुरले भन्नुभयो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home