Tuesday, December 10, 2013

२५ मंसिर, काठमाडौं । प्रमुख दलहरुवीच राजनीतिक सहमति जुटाउन आयोजना गरिएको कांग्रेस, एमाले र एमाओवादी सम्मलित तीन दलीय वार्ता कुनै ठोस सहमतिविनै सकिएको छ । मंगलबार विहान बबरमहलस्थित शान्ति कोषको सचिवालयमा आयोजना गरिएको बैठकले चुनावअघि गठन भएको उच्चस्तरीय राजनीतिक समितिलाई सक्रिय पार्ने र त्यसैमार्फत् सहमतिको उपाय पहिल्याउने सहमति गरेको छ ।
‘आजको बैठकमा एजेन्डाहरुबारे छलफल भएन, उच्चस्तरीय राजनीतिक समितिबाट टुंगो लगाउने कि अलग्गै वार्ताबाट टुंगो लगाउने भन्नेमा मात्र बहस भयो’ बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो- ‘अन्ततः उच्चस्तरीय राजनीतिक समितिमार्फत् समस्या समाधानको प्रयास गर्ने सहमति भएको छ र बुधबार विहान समितिको बैठक डाकिएको छ । उच्च्स्तरीय राजनीतिक समितिमा तीन दलमात्रै नभएर मधेसी मोर्चा पनि आवद्ध छ । चुनावअघि अशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमलाई समेत संयन्त्रमा ल्याइएको थियो ।
एकीकृत नेकपा माओवादीले निर्वाचनमा धाँधली भएको भन्दै त्यसमाथि छानविन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र सहमतीय प्रणाली एवं परिवर्तनका एजेन्डाहरुप्रति कांग्रेस र एमालेले प्रतिवद्धता जनाउनुपर्ने माग राख्दै आएको छ । यी मागहरुको सम्बोधन नभएसम्म संविधानसभामा नजाने एमाओवादीको अडान छ । उच्चस्तरीय राजनीतिक समतिको बैठकमा सहमतिको प्याकेज ल्याउने र आफूहरुले राखेका मागको सम्बोधन गर्ने जिम्मा अब नेपाली कांग्रेस र नेकपा एमालेको रहेको एमाओवादी नेता श्रेष्ठले बताउनुभयो । ‘हेरौं, अब उहाँहरुले कस्तो प्रस्ताव ल्याउनुुहुन्छ ।’ श्रेष्ठले भन्न्ुभयो । तर, सरकार गठन र मन्त्रालय बाँडफँडको विषय भने अहिलेको एजेन्डा नरहेको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगले समानुपातिक तर्फका सभासदको अन्तिम नामावली पठाउन दिएको पहिलो चरणको म्याद मंगलबारै सकिएको छ । एमाओवादीले नाम नपठाएका कारण ५ दिन म्याद थप गर्न नेपाली कांग्रेसले सोमबारै आयोगसमक्ष आग्रह गरिसकेको छ । र, आयोगले मंगलबारै पुनः ८ दिनका लागि म्याद थप गरेको छ । यो अवस्थामा बुधबार हुने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहमति जुटेको अवस्थामा एमाओवादीले पनि समानुपातिक तर्फका सभासद छान्ने कांग्रेस नेताहरुको अनुमान छ । कांग्रेस र एमालेले पनि अहिलेसम्म समानुपातिक सभासदको नाम निर्वाचन आयोगमा पठाएका छैनन् ।
मंगलबार आयोजित तीन दलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापतिच रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला लगायत सहभागी हुनुहुन्थ्यो । एमालेबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको सहभागिता थियो भने एमाओवादीबाट अध्यक्ष प्रचण्ड र बरिष्ठ नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home