वैद्य राजनीतिक समितिमा नबस्ने, सर्वपक्षीय भेलाबाटै संविधान 'कांग्रेस र एमाले यथास्थितिवादी, एमाओवादी उनैको पुच्छर'
१ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मुलुक ०४७ सालको अवस्थामा फर्किएको निष्कर्ष निकाल्दै जनविद्रोहको लामो तयारीमा जुट्ने निर्णय गरेको छ ।१० वर्षे जनयुद्वका उपलब्धीहरु षड्यन्त्रपूर्वक सिध्याएर मुलुकलाई यथास्थितिवादीको हातमा पुर्याएको भन्दै माओवादीले कांग्रेस-एमालेको दुई तिहाइ बहुमत भएको संविधानसभाबाट जनपक्षीय संविधान बन्न नसक्ने बताएको छ ।
‘मुलुक अब ०४७ सालतिर गयो, यथास्थितिवादी /पश्चगामी हावी भएको छ । रुपान्तरणका लागि १० वर्षसम्म जनयुद्व भयो । त्यो सबै सकियो अब संविधानसभामा दुई तिहाइ अर्कै पक्षको भयो । एमाओवादी छैन, हामी पनि छैनौं । अर्को माओवादी पनि छैन’ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न नेवा राज्य समितिको कार्यालय कुपण्डोलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष बैद्यले भन्नुभयो-’दुबै पक्ष आन्दोलनकारी नभएको अवस्थामा यो कहाँ पुग्यो ? संविधानसभा पहिल्यै अवस्थामा गयो । ०४७ सालतिर फर्कियो ।’
विदेशी प्रतिक्रियावादी र संसदवादीसँग आत्मसर्मपण गरेको तथा शान्ति प्रक्रियामा आएपछि सेनासहित जनयुद्वका सबै मुद्दा बली चढाएका कारण एमाओवादी अहिलेको जटिल अवस्थामा आएको वैद्यको निष्कर्ष छ । उहाँले भन्नुभयो-’अहिले कांग्रेस र एमालेले यथास्थितिवादको नेतृत्व गर्ने कुरा आयो, प्रचण्ड- बाबुरामजीहरुले उहाँहरुको फेरो समातेर हिँड्ने कुरा भयो ।’ देशभक्त, वामपन्थी, जनवादी शक्तिहरुसँग मिलेर मोर्चाबन्दी गरेर सडक संघर्षमा जाने भन्दै बैद्यले एमाओवादी संविधानसभा छाडेर सडकमा आए सहकार्य हुने बताउनुभयो । उहाँले भन्नुभयो-’उहाँहरु संघर्षमा आउनुपर्छ । अब एमाओवादीसँग सहकार्य हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा वैद्यले भन्नुभयो, ‘तिथिमिति पुगिसकेको संविधानसभामा चिप्किनु भो भने हाम्रो सहकार्य हुँदैन । तर, फर्किएर आउनु भो भने सहकार्य हुन्छ ।’ सहकार्यका लागि एमाओवादीका प्रत्यक्ष निर्वाचित सभासदले राजीनामा दिनुपर्ने र समानुपातिक सभासद पठाउन नहुने वैद्यको शर्त छ ।
उहाँले अब जनयुद्वको जगमा जनविद्रोह गरी नयाँ जनवादी क्रान्ति पूर्ण गर्ने लामो बाटोमा जाने बताउनुभयो । नयाँ संविधानसभामा वर्गीयता, संघीयता पक्षधर कमजोर भएको भन्दै उहाँले भन्नुभयो-’अब संविधानसभामा मार्फत जनताको संविधान बन्दैन । यस्तो अवस्थामा हाम्रो आन्दोलन पनि हराभरा भित्र छ । एजेण्डा पनि हामीसँग छ । हामीसँग सहकार्य गर्ने शक्ति त थुप्रो छ ।’सैन्य दस्ता बनाउन लागेको हो भन्ने प्रश्नमा वैद्यले क्रान्तिमा बल प्रयोगको भूमिका अनिवार्य भएको भन्दै भन्नुभयो-’ क्रान्तिमा बल प्रयोगको भूमिका अनिवार्य छ । कहिले र कसरी भन्ने आवश्यकता अनुसार हुन्छ ।’
‘सर्वपक्षीय भेलाबाटै संविधान, समितिमा जाँदैनौं’
आफूहरु अहिले पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै माओवादी अध्यक्ष बैद्यले सर्वपक्षीय राजनीतिक सभाबाट निकास खोज्न प्रस्ताव गर्नुभयो । उहाँले राजनीतिक समितिमा भने नजाने प्रष्ट पार्नुभयो । ‘सर्वपक्षीय राजनीतिक सभा गरौं, सबै बसौं र छलफल गरौं, त्यहीँबाट संविधान बनाऔं भनेका छौं’ बैद्यले भन्नुभयो-’तर, हामी राजनीतिक संयन्त्रमा जाँदैनौं । राजनीतिक संयन्त्र बनाएर सहमति गरेर संविधानसभाबाट लैजान असम्भव छ । त्यहाँ सहमति पनि हुँदैन ।’
सर्वपक्षीय राजनीतिक सभाबाट बनाइने संविधान संविधानसभाबाट अनुमोदन गर्न नपर्ने भन्दै माओवादीले संविधानसभा विघटनको माग गरेको छ । १२ बुँदे सहमति र बृहत शान्ति सम्झौताको औचित्य समाप्त भइसकेको भन्दै उहाँले नयाँ शिराबाट सहमति खोज्नुपर्ने बताउनुभयो ।माओवादी अध्यक्ष वैद्यले संविधानसभा चुनावमा आफ्ना कार्यकर्ताले पैसा लिएर कांग्रेस, एमालेलाई भोट नहालेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो-पैसा लिएर भोट हालेको भन्ने गलत प्रचार मात्र हो । त्यस्तो प्रमाण भए ल्याउनुस् । कारवाही गछौर्ं भनेका छौं ।’
भीमसेनको पसीनामा विश्वास छैन
तपाईहरुले नयाँ प्रक्रिया थाल्छौं भन्नुभएको छ दोलखा भीमसेनलाई पसीना आयो नि भनेर पत्रकारले प्रश्न सोध्दा माओवादी नेता कार्यकर्ता गलल हाँसेका थिए । वैद्यले भीमसेनको पसीनामाथि विश्वास नभएको भन्दै आफूहरु जनताको रगत र पसीनासँग मतलब भएको बताउनुभयो ।
निर्वाचनका बेलामा भएको बम विस्फोटनबारे पत्रकारको जिज्ञासामा वैद्यले असन्तुष्ट कार्यकर्ताले हानेको बताउँदै ठीकै भएको बताउनुभयो । ‘सरकार फासीवादी शैलीमा उत्रिएकाले जनता र असन्तुष्ट कार्यकर्ताले बम हानेका हुन्, सकारात्मक भयो, ठीकै भयो ।’ वैद्यले भन्नुभयो ।
निर्वाचनका बेलामा भएको बम विस्फोटनबारे पत्रकारको जिज्ञासामा वैद्यले असन्तुष्ट कार्यकर्ताले हानेको बताउँदै ठीकै भएको बताउनुभयो । ‘सरकार फासीवादी शैलीमा उत्रिएकाले जनता र असन्तुष्ट कार्यकर्ताले बम हानेका हुन्, सकारात्मक भयो, ठीकै भयो ।’ वैद्यले भन्नुभयो ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home